२८ साउन २०८२
काठमाडौं- जिल्ला प्रहरी परिसर, काठमाडौंले गत आर्थिक वर्षको वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै संघीय राजधानी काठमाडौंमा अपराधको प्रवृत्तिमा ठूलो फेरबदल आएको देखाएको छ।
बुधबार परिसरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार परम्परागत अपराधका घटना यथावत रहँदा वित्तीय र साइबर अपराधले भयावह रूप लिएको पाइएको हो ।
विशेषगरी बैंकिङ कसुरका घटनामा आएको बाढीले काठमाडौंको आपराधिक गतिविधि बदलिँदो र जटिल अवस्थालाई देखाएको छ । प्रहरीले प्रविधिमैत्री अनुसन्धान र सामुदायिक साझेदारीलाई अपराध नियन्त्रणको मुख्य हतियार बनाउने रणनीति लिएको परिसरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले पत्रकार सम्मेलनमा जानकारी गराए ।
गत आर्थिक वर्ष २०८१/०८२ मा जिल्ला प्रहरी परिसर, काठमाडौंमा जम्मा १२ हजार ९१५ वटा उजुरी दर्ता भएका छन् । यो संख्या अघिल्लो वर्षको तुलनामा ०.३३ प्रतिशतले मात्र बढी भए पनि अपराधको प्रकृतिमा भने ठूलो परिवर्तन देखिएको छ ।
दर्ता भएका जम्मा उजुरीमध्ये आधाभन्दा बढी, अर्थात् ६ हजार ५५३ वटा मुद्दा बैंकिङ कसुरसँग सम्बन्धित छन् । यसले काठमाडौंमा वित्तीय ठगी, चेक अनादर र अनलाइन कारोबारसँग जोडिएका अपराध ह्वात्तै बढेको देखाएको छ । बैंकिङ कसुरपछि क्रमशः अभद्र व्यवहार १ हजार ९५३, चोरी ९५१ र ठगी ७४५ वटा घटना सबैभन्दा बढी दर्ता भएका छन् । प्रहरीका अनुसार काठमाडौंमा औसतमा दैनिक ३५ वटा अपराधका घटना दर्ता हुने गरेका छन् ।
प्रहरीले पछिल्लो समय देखिएका नयाँ आपराधिक प्रवृत्तिको सूची नै प्रस्तुत गरेको छ, जसले अपराधको सञ्जाल कति विविध र जटिल बन्दै गएको छ भन्ने देखाएको छ । वित्तीय अपराधमा लघुवित्त तथा सहकारी ठगी, अनुचित लेनदेन (मिटरब्याज) र हुण्डी कारोबार, साइबर अपराधमा सामाजिक सञ्जालबाट सिर्जित अपराध, क्रिप्टोकरेन्सी, अनलाइन जुवा, ‘हनी ट्रयाप’ र व्यक्तिको चरित्रहत्या, संगठित ठगीमा वैदेशिक रोजगारी र कन्सल्टेन्सीको नाममा हुने ठगी तथा तस्करीमा सुन तथा बहुमूल्य पत्थरको तस्करी लगायतका आपराध रहेका छन् ।
लागूऔषध प्रयोगकर्तामध्ये पहिलोपटक सेवन गर्नेमध्ये ४८.९ प्रतिशत अर्थात करिव आधार १५ देखि १९ वर्ष उमेर समूहका किशोरकिशोरी रहेको तथ्यले गम्भीर बनाएको छ ।
गत वर्ष प्रहरीका लागि शान्ति सुरक्षा कायम गर्न निकै चुनौतीपूर्ण
गत आर्थिक वर्ष प्रहरीका लागि शान्ति सुरक्षा कायम गर्न निकै चुनौतीपूर्ण रहेको पाइएको छ । वर्षभरिमा भएका १ हजार १८ वटा विभिन्न विरोध प्रदर्शन, धर्ना र र्यालीको व्यवस्थापनमा ३ लाख ८६ हजारभन्दा बढी प्रहरी जनशक्ति परिचालन भएका थिए ।
विशेषगरी, समाजवादी मोर्चा र दुर्गा प्रसाईं नेतृत्वको व्यवस्था विरोधी समूहबीच तीनकुनेमा भएको हिंसात्मक झडप, जसमा २ जनाको ज्यान गएको थियो, गत वर्षको सबैभन्दा दुःखद घटनाका त्यहि हुन पुगेको छ । यसबाहेक, सहकारी पीडित, स्वर्गद्वारी गुठी पीडित, शिक्षक महासंघ र विभिन्न राजनीतिक दलका प्रदर्शन व्यवस्थापन गर्न प्रहरीलाई हम्मेहम्मे परेको थियो ।
८१५ जना जनशक्ति अपुग, १२९ प्रहरी कार्यालयमध्ये १४ वटाको मात्रै आफ्नो भवन
जिल्ला प्रहरी परिसर, काठमाडौंले जनशक्तिको अभावकाबीच काम गरिरहेको तथ्याङ्कले देखाएको छ । जम्मा ४ हजार १६ जनाको दरबन्दी रहेकोमा अहिले ३ हजार २३३ जना मात्र कार्यरत छन्, जसले गर्दा ८१५ जना जनशक्ति अपुग रहेको छ । कार्यरत जनशक्तिमध्ये ८७ प्रतिशत पुरुष र १३ प्रतिशत महिला प्रहरी रहेका छन् ।
पूर्वाधारतर्फ पनि प्रहरीले चुनौती भोग्दै आएको छ । जम्मा १२९ प्रहरी कार्यालयमध्ये १४ वटाको मात्रै आफ्नो भवन र जग्गा छ भने ६० वटा सरकारी जग्गामा र ८ वटा भाडाको भवनमा सञ्चालित छन् । यद्यपि, प्रहरीले आन्तरिक सुशासनमा पनि ध्यान दिएको छ । वर्षभरिमा ६८१ जना प्रहरी पुरस्कृत हुँदा १५८ जना कारबाहीमा परेका छन् ।
प्रविधि र नागरिकमैत्री प्रहरी सेवामा जोड
बदलिँदो अपराधसँग जुध्न जिल्ला प्रहरी परिसरले प्रविधि र नागरिकमैत्री सेवामा जोड दिएको छ । ‘मेट्रो १०० एप्स’ मार्फत प्राप्त उजुरीमा ४२ प्रतिशत घटनामा ५ मिनेटभित्र प्रहरी पुग्ने गरेको तथ्याङ्कले प्रहरीको प्रतिक्रिया समयमा सुधार आएको देखाएको छ ।
यसबाहेक, नागरिक सहायता कक्षमा ‘डिजिटल इन्ट्री सिस्टम’, प्रहरी कर्मचारीका लागि ‘पुलिस डिजिटल डायरी’ र हराएका कागजात खोज्न र फेला पार्न ‘खोजतलास समन्वय शाखा’ जस्ता नयाँ प्रयास थालिएका छन् । विपद् व्यवस्थापनका लागि पनि लाइफ ज्याकेट, रबर बोट जस्ता उद्धार सामग्रीको संख्या उल्लेख्य रूपमा बढाइएको छ र संयुक्त सुरक्षा अभ्यासलाई निरन्तरता दिइएको छ ।
प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रममार्फत अपराध न्यूनीकरणका लागि २ हजार ५२२ वटा कार्यक्रम सञ्चालन गरी १ लाख ९२ हजारभन्दा बढी नागरिकसम्म पुगेको जनाएको छ ।
मोटरसाइकल वर्कसप, मोबाइल पसल र राइड–सेयरिङ कम्पनी जस्ता सुरक्षाका दृष्टिकोणले संवेदनशील सरोकारवालासँग नियमित अन्तरक्रिया गरी अपराध रोकथाममा सहयोग लिइएको छ ।
समग्रमा, जिल्ला प्रहरी परिसर, काठमाडौंले आफ्नो वार्षिक समीक्षामा अपराधको बदलिँदो र जटिल स्वरूपलाई स्वीकार्दै त्यसलाई नियन्त्रण गर्न प्रविधि, रणनीतिक योजना र सामुदायिक सहकार्यको बाटो अवलम्बन गरेको स्पष्ट पारेको छ । तर, बढ्दो वित्तीय र साइबर अपराधको जालो तोड्न थप स्रोत, साधन र विशेष दक्षता आवश्यक पर्ने देखिएको जनाइएको छ ।
तिहारमै अन्धकार बने उद्योगहरु, ढेड अर्ब बक्यौता नतिर्ने जगदम्बासहित आधा दर्जन उद्योगको लाइन चैट
ओली देउवा प्रचण्ड नै जेलको बाटोमा, छट्पटिन थाले ओली र प्रचण्ड
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख रुपैयाँ भैपरी खर्च
विपीन जोशीको आज अन्त्येष्टि
‘डेडिकेटेड’ महसुल तिर्न उद्योगीले गरे सामूहिक अस्वीकार
अहिलेको जटिल परिस्थितिमा माओवादीको भूमिका बढेको छ : प्रचण्ड
सैनिक कल्याणकारी कोषबाट १० लाख हिताधिकारी लाभान्वित
मापदण्डमा परेर पनि रास्वपा सचिवालयमा किन अटाइनन् तोसिमा ?
थप ५० वटा रुग्ण सडकका ठेक्का तोड्न सार्वजनिक सूचना
आज काग तिहार मनाइँदै
प्रतिक्रिया